काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही १ लाख ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ ।
कामपाद्वारा शनिवार आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगतसहित सम्मान गरिएको हो ।
लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा अरुण सायमी, राजनीति र समाज सेवाको क्षेत्रबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिता अन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।
त्यस्तै, खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ललाइ सम्मान गर्दै कामपाको वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर सङ्कलन गर्ने सवारीलगायत उपकरण पनि प्रदर्शन गरिएको थियो ।
शनिवार बिहानदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ । वार्षिकोत्सव अवसरमा साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिएकोछ । रासस
प्रतिक्रिया