logo
१० माघ २०८१, बिहीबार

समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल

समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका मन्त्री तथा सचिवहरुलाई बजेट, कार्यक्रम तथा योजना कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्षको मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिदै मुख्यमन्त्री कँडेलले सुधारका नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिनुभएको हो ।

“समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नुस्,” मुख्यमन्त्री कडेलले भन्नुभयो, बरु नियमसंगत रुपमा अड्केको कसरी फुकाउन सकिन्छ । त्यतातर्फ लाग्नुहोस ।” बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नीतिगत काम मन्त्री र सचिवको भएको बताउदै उहाँले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा बिगतमा देखिएका कमिकजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औल्याउदैं उहाँले हात बाँधेर बस्ने प्रवृतिलाई अन्त्य र उपयुक्त विकल्प खोजेर सहजीकरण गर्ने काममा लाग्नसमेत सुझाउनुभयो ।

नागरिकको तहबाट उठेका विभिन्न टिप्पणीहरुलाई कानूनसम्मत तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री कँडेलले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिन्ह खडा गर्ने तरिकालाई बदल्न समेत आग्रह गर्नुभयो । चालु आर्थिक वर्षको चौमासिक समीक्षाको प्रगति सोचे अनुरुप हुन नसक्नुका कारणहरु खोजेर समाधानतिर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सरकारले वितरण गर्ने अनुदानको बारेमा आफूकहाँ व्यापक गुनासाहरु आउने गरेका बताउँदै मुख्यमन्त्री कँडेलले अनुदानको नाममा हुने विकृतिहरुलाई हटाउन निर्देशन पनि दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा दुई दिनसम्म संचालन भएको मन्त्रालयगत समीक्षा कार्यक्रममा विभिन्न ७ मन्त्रालयका मन्त्रीहरु तथा सचिवहरुको उपस्थिति रहेको थियो । रासस

TOP