logo
४ माघ २०८१, शुक्रबार

मुस्ताङको स्याउको बढ्दो माग धान्न धौधौ

मुस्ताङको स्याउको बढ्दो माग धान्न धौधौ

गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने गरेको छ ।

पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रूपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहनु भएका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताउनुभयो ।

पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । “उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन”, शेर्पाले भन्नुभयो, “यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।”

विगतमा परम्परागतरूपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको किसान बताउँछन् । “नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौँ”, शेर्पाले भन्नुभयो, “उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।”

बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । मुस्ताङको मुख्य फलफूलखेतीका रूपमा रहेको स्याउको व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएको पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो ।

स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन-तीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट रक्सीसमेत बनाउन थालेका छन् ।

मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ ।

जिल्लामा गत वर्ष रु ९१ करोड ८६ लाखको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको छ ।

केही वर्षयता तापक्रम बढ्दा पनि मुस्ताङका उपल्ला भूभागमा स्याउ खेती बढ्दै गएको स्थानीयवासी बताउँछन् । मुस्ताङका टुकुचे, मार्फा, जोमसोम, ठिनी, खिङ्गा, छुसाङ, कागबेनीलगायतका स्थानमा स्याउको व्यावसायिक खेती भइरहेको छ ।

स्याउको उत्पादन बढेपछि उवा, फापरलगायत रैथाने बाली लगाउन छाडिएको छ । बगैँचाबाट स्याउ प्रतिकिलो एक सय ५० रुपियाँमा बिक्री भइरहेको छ ।

“बजारमा यहाँको स्याउको माग बढ्दो छ तर माग अनुसार उत्पादन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “यस वर्ष उत्पादन सकिएको छ, तर माग उत्तिकै छ ।”

स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो ।

सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ । रासस

TOP