जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।
दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।
दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताउनुभयो ।
शिक्षाध्यक्ष डा धामीले उहाँले भन्नुभयो, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।”
प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया