logo
७ माघ २०८१, सोमबार

भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान

भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान

भैरहवा ।  नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शनिवार तीन विमानले उडान भरिरहेका छन् ।

विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । शनिवार एक सय ७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दैछन् ।

यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ । जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ । मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

यस्तै फ्लाई दुबईले दैनिक उडान गर्ने र अपराह्न पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने उहाँले बताउनुभयो । नेपाल एयरलाइन्सले सातामा तीन पटक काठमाडौँ–भैरहवा–दुबई उडान गर्नेछ ।

महाप्रबन्धक तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ । कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी गराउनु भयो ।

अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्नसक्ने क्षमता रहेको उहाँले बताउनुभयो । महाप्रबन्धक तिवारीले भन्नुभयो, “अध्यागमन लगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ ।”

भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् । देवदह नगरपालिकाका तिजन रानाले पहिलो पटक भैरहवामै अवतरण गर्न पाउदा खुसी भएको बताउनुभयो ।

सोही विमानमार्फत भैरहवा आइपुग्नुभएका कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुशी भएको बताउनुभयो । यसले नेपाल र कुवेतबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यहाँका नेपाली नागरिकलाई आवतजावतमा सहज पु¥याउने बताउनुभयो ।

राजदूत लम्सालले विमानस्थल नियमित सञ्चालनमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । विमानस्थल सञ्चालनमा आएसँगै यात्रुहरुले यसलाई भने अब निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । व्यवस्थापन चुस्त राख्नुपर्ने, सार्वजनिक यातायातका साधन लगायतको विषयमा ध्यान दिन उहाँले सुझाव दिनुभयो । रासस

 

TOP