

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका-१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको ६ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।
२०८० असार २ गते आएको बाढीले हेंवा खोलामा सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ ।
उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान ३ करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।
प्रतिक्रिया