logo
२ चैत्र २०८१, शनिबार

बन्दीपुरमा ३ महिनामा १० हजार बढी विदेशी पर्यटक आए

बन्दीपुरमा ३ महिनामा १० हजार बढी विदेशी पर्यटक आए

बन्दीपुर । तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् ।

बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख रुद्रबहादुर झाँक्रीले ५ हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताउनुभयो ।

यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या २ हजार ३ सय ५२ जना रहेका छन् ।

यसैगरी क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष फुलमती थापाका अनुसार पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका तर विभिन्न होटलको तथ्याङ्क अनुसार थप एक हजार ९८१ जना विदेशी पर्यटक बन्दीपुर पुगेका छन् ।

प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौँ र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरु प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन् । बन्दीपुरमा आउने विदेशी पर्यटकहरूमध्ये सबैभन्दा धेरै चीनका रहेका छन् ।

बन्दीपुरबाट सुन्दर हिमाल, विभिन्न खोला, नदी तथा फाँटहरू सजिलै देखिन्छन् । यहाँ प्राचीन काठकलाले भरिएका घरहरूसमेत हेर्न पर्यटकहरू लालायित हुने गर्दछन् ।

बन्दीपुर गाउँपालिकासहितका अन्य सरोकारवाला पक्षहरूले सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा घोषणा गरेर विभिन्न पर्यटकीय गतिविधि गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सन् २०२५ भरि नै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न पर्यटकीय गतिविधि गर्ने बताउनुभएको छ । उहाँले सन् २०२५ मा १ लाख बाह्य तथा २ लाख आन्तरिक पर्यटन भित्र्याउने योजना रहेको बताउनुभयो । रासस

TOP