logo
३० माघ २०८१, बुधबार

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ ।

नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो ।

संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले कामहरू अगाडि बढाएको छ ।

सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चहाने विमान कम्पनीलाई विभिन्न कर छुटलगायतका सुविधा उपलब्ध गराउने कार्ययोजना स्वीकृत भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलजजिरा एयर, फ्लाइ दुबई र थाई एयर एसियाले उडान सुरू गरी सकेका छन् ।

परम्परागत रूपमा रहेको इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को विकल्पमा भूउपग्रहमा आधारित रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स-अथोराइजेसन रिक्वायर्ड (आरएनपी-एआर) प्रणाली जडान भइ सञ्चालनमा ल्याइएको छ ।

संस्कृतिक सम्पदा संरक्षण

कपिलवस्तुस्थित तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पुरातात्विकस्थल पहिचान भएको क्षेत्रको थप जमिन अधिग्रहण, युनेस्को इसिमोडको मिसनद्वारा स्थलगत अवलोकन लगायतका कार्यहरू गरिएका छन् ।

भूकम्पबाट क्षति भई बन्द अवस्थामा रहेको राष्ट्रिय सङ्ग्रहालय परिसरको ऐतिहासिक भवनको जीर्णोद्धार कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विश्वसम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनका लागि कार्ययोजना, २०८१ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।

TOP