logo
७ माघ २०८१, सोमबार

बिजुलीकलीले जितिन् हात्ती सुन्दरीको  उपाधि

बिजुलीकलीले जितिन् हात्ती सुन्दरीको  उपाधि

भरतपुर । चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन शुक्रवार आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् ।

हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । एकचालीस वर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो ।

तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प्राप्त गरी बिजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो ।

सुन्दरी प्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्याङ्कन गरिएको तिवारीले जानकारी दिनुभयो । उहाँले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्याङ्कन गरिएको बताउनुभयो ।

हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । प्रतियोगितामा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ । रासस

ताजा अपडेट
TOP