बुटवल। कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो ।
करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
उहाँले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताउनुभयो ।
करिडोरअन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ । उपप्रमुख शर्माका अनुसारकरिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् ।
कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर हुने उहाँकोभनाइ छ ।
गैँडाकोटबाट चीनको सिमाना कोरलानाकासम्म करिडोरको चार सय ९५ किलोमिटरको २०७६ सालमा नै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो ।
चीनका पर्यटक करिडोरबाट लुम्बिनी आउन थालेका छन् ।करिडोर निर्माण गर्ने २४ वर्षअघिदेखिको योजना अहिले साकार हुने क्रममा छ ।
गैँडाकोट–राम्दी–मालढुङ्गा दुई सय २४० किमी र मालढुङ्गा-बेनी-जोमसोम सडकखण्ड २५५ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर करिडोरको स्तरोन्नति र कालोपत्र भइरहेको छ ।
गैँडाकोट–मालढुङ्गा खण्डको दुई सय ४० किमीमध्ये एक सय ६२ अर्थात् ६७ प्रतिशत सडक कालोपत्र भइसकेको कालीगण्डकी करिडोर गैँडाकोट-मालढुङ्गा आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।
चीन र भारतलाई सिधा जोड्ने करिडोरमा सवारीसाधन गुड्न थालेपछि भारतका तीर्थयात्री रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्ने थालेका छन् ।
चीनका बौद्धमार्गीहरू भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा ल्याउने वातावरण मिलाउन आवश्यक रहेको ढकालको भनाइ छ । रासस
प्रतिक्रिया