logo
४ माघ २०८१, शुक्रबार

‘हट एयर बेलुन’सार्क मुलुकका पर्यटकको आकर्षण

‘हट एयर बेलुन’सार्क मुलुकका पर्यटकको आकर्षण

पोखरा । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ ।

प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्यलफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् ।

प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ ।

बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६० प्रतिशत यात्रु छिमेकी मुलुक भारतका हुने गरेको बताउनुभयो ।

बाडेले पर्यटकका लागि एउटा फरक र रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वाससहित यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागेको पनि बताउनुभयाे ।

उहाँका अनुसार महोत्सवमा हट एयर बेलुनको नाइट ग्लो, टेथर्डलगायत प्रसिद्ध ब्याण्डका साङ्गीतिक कार्यक्रम, बेलुन प्रतियोगिता, डिजे म्युजिकलगायत कार्यक्रम हुनेछन् भने २० देशका व्यावसायिक बेलुन पाइलटले प्रतियोगितामा भाग लिनेछन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हट एयर बेलुनले साहसिक गतिविधि रुचाउने पर्यटक मात्र नभई, प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई पनि आकर्षित गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष पहारीले बेलुनले साहसिक खेल र पर्यटनमार्फत पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्दै नेपालको पर्यटनलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

युरोपियन मापदण्डअनुसारका हट एयर बेलुन क्यानमा जाँच गरेरमात्र भित्र्याइन्छन् । काठमाडौँमा सनराइज बेलुनले सन् १९९१ हट एयर बेलुन भित्र्याएको थियो ।

काठमाडौँमा हवाइ चाप बढ्न थालेपछि बेलुन उडान बन्द भएको थियो । पोखरामा भने पहिलो पटक सन् २००९-१० मा बेलुन उडान प्रयास गरिए पनि व्यावसायिक रूपमा सन् २०१८ मा बेलुन नेपाल प्रालिले सुरू गरेको हो ।

अहिले कम्पनीसँग तीन वटा छुट्टाछुट्टै भारवहन क्षमताका हट एयर बेलुन छन् । त्यसमा पाँच, आठ र १२ जनाले उडान गर्न सक्छन् भने यसको मूल्य ७० लाखदेखि एक करोड ४० लाखसम्मका छन् ।

बेलुन उडानका लागि नेपालीलाई ११ हजार, सार्क मुलुकका पर्यटकलाई एक सय २० अमेरिकी डलर र अन्य मुलुकका नागरिकलाई एक सय ५० अमेरिकी डलर शुल्क लाग्छ । हट एयर बेलुनमा यात्रा गर्ने यात्रुको २० हजार डलरको यात्रु बिमा गरिन्छ ।

बेलुन रिजर्भ गरी उडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ । असार, साउन र भदौमा वर्षायामको कारण उडान हुँदैन । उडान समय ४० मिनेटको हुन्छ । कम्पनीले सूर्योदय र सूर्यास्तको समयलाई मध्यनजर गर्दै बिहान ५ देखि ९ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म उडान गराउँदै आएको छ ।

बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार बेलुन पोखराको लौरुकदेखि उडेर चङ्खपुर क्षेत्रमा अवतरण हुने गर्दछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी सम्पर्कमा रहने गरी उडान हुँदै आएको छ ।

TOP