Image description
काठमाडौं सहकारी पीडित बचकर्ताहरूले भोलिदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन्। सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्।
 
देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो।
 
महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताउनुभयो।
 
११ जेठमा माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गर्ने उहाँले बताउनुभयो। ‘११ जेठमा ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्‍याली गर्छौं। र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं,’ उहाँले भन्नुभयो।
 
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो। नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उहाँले बताउनुभयो ।
 
आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलनमा जानु परेको उहाँले बताउनुभयो।
 
हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको उहाँले बताउनुभयो। तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उहाँले बताउनुभयो।