Image description

काठमाडाैँ । डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको बताइएकाे छ । वन क्षेत्र व्यवस्थापनमा सरोकारवालाले जोड दिएका हुन् ।

देशभरका सामुदायिक वन उपभोक्ताको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले बिहीबार काठमाडौँमा आयोजना गरेको डढेलोसम्बन्धी अन्तरक्रियामा उहाँहरुले वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रको व्यवस्थापनमा जोड दिनुभएको हो ।

वनविद् विजयराज पौडेलले पछिल्लो समय गाउँ बस्तीबाट मानिस बसाइँ सरेको वन क्षेत्रमा पातपतिङ्गर, दाउराजस्ता जैविक पदार्थ थुप्रिएका कारण वन डढेलो फैलिरहेको बताउनुभयो ।

पौडेलले डढेलो पूर्वतयारी र नियन्त्रणमा राज्यको लगानी बढाउन नसके बर्सेनि वन डढेलोको घटना बढ्दै जानेसमेत बताउनुभएको छ ।

उहाँका अनुसार राम्रो घाँस दाउरा पलाउने लोभमा पहिले–पहिले वनमा मानिसले जानाजान आगो लगाउने गरेको र अहिले भने पिकनिक जाँदा आगो बाल्ने अनि छाडेर हिँड्दा, चुरोट खाएर जङ्गलमा फाल्दा, क्याम्प फायर गर्दा तथा कुनै रिसिइबीका कारण र काठ तस्कर गरेर प्रमाण नष्ट गर्नका लागि पनि मानिसले जङ्गलमा आगो लगाउने गर्छन् । 

उहाँले वनमा लाग्ने डढेलो ६० प्रतिशतभन्दा बढी मानवीय क्रियाकलापबाट हुने भन्दै जानाजान आगो लागाउनेलाई कडाइ कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वातावरण अधिकृत रिना चौधरीले २० मिलिमिटरसम्मको वर्षा हुँदा पनि डढेलो नियन्त्रण भने हुन नसकेको बताउनुभयो ।