Image description

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा एमालेले सोमवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलको सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्न पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले अर्को राजनीतिक दलको योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ ।