Image description

भैरहवा । वैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

 ठाउँठाउँमा आगलागी भइरहेका छन् । आगलागीले करोडौंको धनमाल नष्ट भएका छन् । गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ ।

 शनिबार नेपालमै सबैभन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको थियो । आइतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महसुस गराए पनि सोमवार फेरि गर्मीले प्रचण्ड रुप लिएको छ । सोमवार भैरहवाको तापमान ४३ डिग्री पुगेको छ । भैरहवामा अन्य ठाउँभन्दा बढी गर्मी हुन थालेपछि जनजीवन कष्टकर बनेको हो ।

रुपन्देहीलगायतका जिल्लामा गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ । चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

भीम अस्पताल भैरहवामा गर्मीका कारण बिरामी भई आउनेको चाप बढ्दो छ । सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले गर्मीकै कारण सात सयको हाराहारीमा बिरामी आएको भैरहवा भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाको भनाइअनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो । गर्मीले मानिस मात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन् । बजार सुनसान भएपछि व्यापार घटेको छ ।

तातो हावा, प्रचण्ड गर्मी र आगलागीबाट वातावरणमा परेको असरका कारण जनजीवन प्रभावित भएपछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारीलगायतले वर्षाको कामना गरिरहेका छन् ।