Image description

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

 नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको बैशाख १० गते ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उहाँले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।

 “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नु प¥यो,” पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपाली कम्युनिष्ट आन्दोलनमा पटकपटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पचहत्तर वर्ष पुगेको ऐतिहासिक अवसर पारेर यो विशेष समारोह आयोजना गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै उहाँले यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो “यस अवसरमा, म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा आफ्नो जीवन उत्सर्ग गर्ने सबै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु ।”

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा जनताको श्रम, सीप र प्रतिभाको सदुपयोगमार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने र यसरी मात्र देशलाई समृद्ध र जनतालाई सुखी बनाउने उहाँको भनाइ थियो ।

नेपालका निकट छिमेकी मित्रराष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेको हुँदा दुई मुलुकसँगको सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई दृष्टिगत गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीले आफूलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेकामा धन्यवाद दिँदै पूर्वराष्ट्रपति भण्डारीले यो सम्मान मलाई व्यक्तिगत रूपमा गरिएको जस्तो देखिए पनि वास्तवमा यो लोकतान्त्रिक गणतन्त्रप्रतिको उच्च आस्था, विश्वास र सम्मानको प्रतीक भएको र थप जिम्मेवारी बोध भएको महसुस बताउनुभयो । रासस