Image description

तम्घास । गुल्मीमा तीन दिनदेखि लागेको डढेलोबाट करोडौँको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।

शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि इस्मा सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।

 इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका– २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन ।

त्यसैगरी इस्मा गाउँपालिका–४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेको छ । सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गाला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिनुभयो ।

 आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, तथा भाँडाकुँडा लगायतका सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।

आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ । गाउँमा पाइप जलेपछि खानेपानीको अभाव भएको छ ।

 शुक्रबार र शनिबार गरी इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरु लगायतका क्षेत्रमा डढेलो लागेको थियो । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि लागेको डढेलो अझै निभेको छैन ।