Image description

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आइतवार सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमाले पार्टीका पूर्वउपाध्यक्ष रहनुभएको भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औँ बर्ष ‘हीरक महोत्सब’ का अवसरमा यही वैशाख १० गते हुने विशेष समारोहमा उक्त सम्मान पूर्वराष्ट्रपति भण्डारीलाई प्रदान गरिने छ ।

नेता भट्टराईका अनुसार आइतवारको परिषद् बैठकको अध्यक्षता गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हीरक महोत्सवमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजना रहेको थियो । सो योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवम् दुई–दुईपटक गणतन्त्र नेपालको निर्वाचित भएको व्यक्ति पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

 उक्त प्रस्तावलाई सर्वसम्मतिमा पारित गर्ने निर्णय गरेको थियो । एमालेले कम्युनिष्ट पार्टी स्थापना भएको अवसरमा विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

नेता गौतमका अनुसार महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनु हुनेछ । महोत्सवमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्नुहुने जनाइएको छ ।