Image description

काठमाडौँ । नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आइतवार आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो ।

अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आंशकाका भरमा कसैको सङ्लग्नताबारे समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना हुने भन्दै यस्ता प्रकृतिका समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

 कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सूचना लुकाउँदा आम जनताको सुसूचित हुने हकको हनन हुने भएकाले समाचार दिँदा कन्जुस्याईँ गर्न नहुनेमा जोड दिनुभएको थियो ।