Image description

गुल्मी,९ वैशाख ।  जिल्लाका १३ ठाउँमा भएको आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया मरेका छन् । त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका–२ हाडीखोला, वडा नम्बर ४ को कोटकोटरी र मुर्किना, गुल्मीदरबार गाउँपालिका–६ भलायचौर, मुसिकोट नगरपालिका–५ आँपचौर र अर्लाङ्कोटमा शनिबार आगलागी भएको थियो ।

त्यस्तै मालिका गाउँपालिका–१ म्यालचौर, मदाने गाउँपालिका–१ घडेरी, छत्रकोट गाउँपालिका–१ हुँगा, धुर्कोट गाउँपालिका–६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका– १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा, कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पु¥याएको छ ।

सिदुङ्खामा मात्र १३ घर र २५ वटा गोठ गरी ३८ घरगोठ जलेका छन् ।आगलागीका कारण गुल्मी गाउँपालिका–२ मा खानेपानीको पाइप पनि जलेको छ । त्यसैले अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा हरेक हिउँदमा आगलागीका घटना हुने गरे पनि निभाउन भने सहज छैन ।