Image description

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिनेमा ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

 निर्देशक उप्रेतीले भन्नुभयो, “श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्धदक्ष, ४८२ जना व्यवसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन् ।”

विभागको तथ्याङ्क अनुसार चैतमा मात्रै १७ हजार ८१८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । सोही महिनामा साउदी अरेबियामा १३ हजार ६४१ जना, कतारमा ११ हजार २०४ जना, मलेसियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९६४ जना पुगेका छन् ।

 यसैगरी रोमनियामा २ हजार दुई २९९ जना, क्रोएसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १ हजार ३५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ ।