Image description

काठमाडौँ  । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम न्यूनतम पारिश्रमिकलाई दोब्बर बनाउन सरकारसँग माग गरेको छ ।

काठमाडौँमा शनिवार  आयोजित १२ औँ अधिवेशनले पत्रकारहरुको पेसागत सुरक्षाका लागि प्रभावकारी कदम चाल्न, श्रमजीवी पत्रकारहरुले पाउने सेवासुविधा नियमित रुपमा उपलब्ध गर्न गराउन शाखा सरोकारवाला निकायसँग माग गरेको हो ।

लोकल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न, समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न, साथै अनलाइन सञ्चारमाध्यमका लागि समेत प्रदान गर्ने गरी वार्षिक बजेटबाट विनियोजित रकम तत्काल कार्यविधि बनाएर उपलब्ध गराउन माग गर्दै लोककल्याणकारी विज्ञापनबापतको रकम नियमित भुक्तानीका लागि सहजीकरण गर्न विज्ञापन बोर्डसमक्ष आग्रह गरेको छ ।

पत्रकारहरुका लागि उपचार गर्न सरकारी तथा निजी अस्पतालहरुमा कम्तीमा दुई शय्या छुट्याई निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको बैठकले पत्रकारहरुका लागि सरकारले घोषणा गरेको निःशुल्क उपचारको व्यवस्था तत्काल कार्यान्वयन गर्न, उनीहरूको स्वास्थ्य संवेदनशीलताका लागि काठमाडौँ शाखाबाट उपलब्ध हुनेगरी आपत्कालीन कोष स्थापना गर्न सरकारसँग माग गरेको छ ।

 पत्रकारहरुका लागि सुरु गरिएको दुर्घटना बीमालाई स्वास्थ्य बीमामा रुपान्तरण गर्नका लागि सरकार पत्रकार महासङ्घ केन्द्रीय समितिसँग माग गरेको छ ।

 साना तथा स्वरोजगारमूलक आमसञ्चारमाध्यम तथा पत्रकार र कर्मचारीहरुलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋण रकम रु १० लाखबाट बढाई रु २५ लाख पु¥याउन माग गरेको बैठकले आमसञ्चारमाध्यम तथा पत्रकारहरुका लागि निःशुल्क रुपमा इन्टरनेट, पत्रकारिता तथा आमसञ्चार विषयमा उच्च शिक्षा हासिल गर्न चाहने पत्रकारहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न, ज्येष्ठ पत्रकार वृत्ति सम्पूर्ण ज्येष्ठ पत्रकारहरुलाई उपलब्ध गराउने गरी तथ्याङ्क सङ्कलन गर्नेलगायतका सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा विभिन्न बहानामा नियमित पारिश्रमिक उपलब्ध नगराउने, दबाबपूर्ण बिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्कासन गर्ने सञ्चारगृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन माग बैठकले गरेको सचिव महेश्वर गौतमले जानकारी दिनुभयो ।

 सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकमा लोकतन्त्रको स्थापनाका लागि सञ्चारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै पत्रकारको हक, हित र अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । रासस