Image description

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।

 ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

 सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा ग¥यो । नेपालका लागि आशिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ तथा सन्दीप जोराले अविजित १२ रन बनाए ।

बलिङतर्फ मलेसियाका कप्तान विरनदीप सिंहले तीन तथा पवनदीप सिंह र मोहमद वाफिकले एक एक विकेट लिए । यसअघि एक सय ४३ रनको योगफल बनाउने क्रममा मलेसियाका लागि कप्तान विरनदीप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने ।

यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

 बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल नयाँ बर्षको पहिलो दिन वैशाख १ गते शनिवार कतारसँग खेल्ने छ ।