Image description

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ ।  नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

 काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताउनुभयो । उहाँले पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिनुभयो ।

ठमेलमा रात्रिकालीन व्यवसाय अन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्ने भएकाछन् ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताउनुभयो ।

ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ । आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ । मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ ।

 पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने निर्णयले ठमेल र दरबारमार्गका व्यवसायी उत्साहित बनेको क्लब एसोसिएसन अफ नेपालका महासचिव अमित ठकुरीले बताउनुभयो । रासस