Image description

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

 नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको १०औँ राष्ट्रिय शिखर सम्मेलनको शुभारम्भ गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवा पूर्णतरुपमा निःशुल्क बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्ट्रपति पौडेलले आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दस्तावेजद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्त गर्न, नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गर्दै अनुसन्धानका निष्कर्षलाई व्यावहारिक समाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 ‘दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य र जनसङ्ख्यासम्बन्धी अनुसन्धान र नवप्रवर्तन’, नारासहितको स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको तीन दिने शिखर सम्मेलन बुधवारदेखि सुरु भएको हो ।

उक्त सम्मेलनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वैज्ञानिक अध्ययन अनुसन्धानबिना समृद्धि, विकास र समाजवादको कल्पना गर्न नसकिने बताउनुभयो । देश र समाज अनुकूल नीति निर्माणका लागि अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्कको महत्वपूर्ण स्थान रहेको उहाँको भनाइ थियो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनले आगामी दिनमा नीति तथा योजना बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।