Image description

बैङ्कक ।  नजिकैको एउटा महत्त्वपूर्ण सीमा केन्द्रमा झडपहरू भएपछि म्यान्माको जुन्ताले थाइल्यान्डमा अवतरण गर्न र म्यान्माका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न ‘विशेष’ उडानको अनुमति दिन अनुरोध गरेको थाई विदेश मन्त्रालयले सोमबार बताएको छ ।

 म्यान्मामा हालैका महिनामा आन्तरिक द्वन्द्व बढेको छ । सन् २०२१ को सैन्य विद्रोहमा लोकतान्त्रिकरूपमा निर्वाचित सरकारबाट सत्ता हत्याएको सेनाविरुद्ध विरोधी शक्तिहरूले मुलुकभर अग्रता हासिल गरिरहेका छन् ।

म्यान्माका पहिला लडाइँबाट अछूतो रहेका क्षेत्रहरूमा लगातार झडपहरू भइरहेका छन् । विश्लेषकहरूले बढ्दो झडपहरू जुन्ता शासनका लागि अहिलेसम्मको सबैभन्दा ठूलो खतरा हो भनेका छन् ।

साताको अन्त्यमा थाई सहर माई सोटको सीमापार म्यावाडी सहर नजिकै जुन्ताविरोधी समूहरूले तीव्र लडाइँ गरेको स्थानीय समाचार थिए । जुन्ताको वाणिज्य मन्त्रालयका अनुसार म्यावाडी तेस्रो सबैभन्दा व्यस्त ‘ल्यान्ड क्रसिङ’ हो । यहाँबाट पछिल्लो १२ महिनामा करिब एक अर्ब १० करोड डलरको सामानहरू ओसारपसार भएको थियो । म्यान्माको एउटा उडान आइतबार माई सोट विमानस्थलमा अवतरण गरेको र ‘मानवीय आधार’ मा अनुरोध स्वीकार गरिएपछि सोही दिन फर्किएको विदेश मन्त्रालयले विज्ञप्तिमा पुष्टि गरेको छ । बैङ्ककमा म्यान्माको

दुतावासले अप्रिल ६ मा आगामी तीन दिनमा ‘यात्रीहरू र कार्गो’ ओसार्न तीन ‘विशेष’ याङ्गुन–माई सोट उडानको अनुमति मागेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका प्रवक्ताले उडानका बारेमा थप जानकारी दिन अस्वीकार गर्नुभयो ।

 आइतबारको उडानपछि बाँकी उडान रद्द गरिएको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा थप कुनै विवरण दिइएको छैन ।

थाइल्यान्डले थाई–म्यान्मा सीमामा स्थितिको नजिकबाट निगरानी गरिरहेको र ‘शान्ति, व्यवस्था र नागरिकहरूको सुरक्षा कायम गर्न आवश्यक कारवाही गर्नका लागि तयार रहेको’ विज्ञप्तिमा उल्लेख छ ।

 स्थानीय सञ्चारमाध्यमद्वारा लिइएको एक भिडियोमा केही सशस्त्र कारहरूमा नजिकैको दूरीमा पाल र अव्यवस्थित अस्थायी आश्रय बनाएर थाई सैनिकहरूले सीमामा गस्ती गरिरहेको देख्न सकिन्छ ।

यसअघि उडानका बारेमा सोधिएको प्रश्नमा थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकारहरूसँग भन्नुभयो, “उडान हतियारको ढुवानी वा सैन्यकर्मीहरूका लागि थिएन ।” विमानले ‘नागरिक कामदार’लाई मात्र बोकेको उहाँले बताउनुभयो । रासस/एएफपी