Image description

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताउनुभएको छ । नयाँवर्ष २०८१ सालको पूर्वसन्ध्यामा सोमवार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताउनुभएको हो ।

“विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, विसं २०८१ मा उत्तर खोज्ने गरी राजनीतिक दल अगाडि बढ्नुपर्छ”, सांसद पौडेलले भन्नुभयो ।

 काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले प्रश्नहरु उठ्दैमा कोही पनि दोषी नहुने भएकाले संसद्मा जोकोहीमाथि उठेका प्रश्नको छानबिन सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछाडि नहटेको बताउनुभयो ।

“सहकारीको विषयमा कांग्रेसले निरन्तर आवाज उठाएको छ, राजीनामा नैतिकताको विषय हो”, उहाँले भन्नुभयो । अरुलाई प्रश्न उठाउने व्यक्तिले आफूले उत्तर दिन सक्नुपर्ने उहाँको भनाइ छ ।

नेता पौडेलले मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय एकपछि अर्का काण्ड सार्वजनिक भएको भन्दै सबै काण्डको छानबिन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।