Image description

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आइतवार हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ ।

 आइतवार विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ दशमलव ५६ मा कारोबार भएका छन् ।

आइतवार कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ पुगेको छ । होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ ।

त्यस्तै वित्त समूह पाँच दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक तीन दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।  विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।

 त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड-१ को तीन दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ७६ प्रतिशतले घटेको छ ।