Image description

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताउनुभएको छ ।

निर्वाचन व्यवस्थापन विधेयक र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका सम्बन्धमा निर्वाचन आयोगद्वारा आइतवार आयोजित अन्तर्क्रियामा उहाँले जुन विषयवस्तुले निर्वाचन प्रणाली र संसद्लाई समृद्ध र प्रभावकारी तुल्याउँछ त्यसलाई सबै पक्षले सहयोग र समर्थन गर्नुपर्छ भन्नुभयो ।

 उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीप्रति उठेका प्रश्न र राजनीतिमा देखिएको विचलनलाई सुधार गर्दै निर्वाचनलाई सही ढङ्गबाट अघि बढाउने आयोगले व्यवहारिक विषय राखेको छ ।”

निर्वाचन व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदामा आयोगले दिएका सुझाव समावेश गर्न सकिएमा दलहरुको राजनीतिक चरित्र र समाज सुधारमा कोशेढुङगा सावित हुने उहाँले बताउनुभयो ।

निर्वाचनमा देखिएका कैयौँ विसङ्गति र विकृति अन्त्य गर्न बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउँदै गृहमन्त्री लामिछानेले आगामी दिनमा पार्टीको आन्तरिक र मुलुकको समग्र लोकतान्त्रिक पद्धतिको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगले मन्त्रालयमा पठाएको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकमाथि केही सामान्य छलफलपछि सदनमा पठाइने बताउँदै गृहमन्त्री लामिछाने केही राम्रा विषयलाई मस्यौदामा थप समावेश गर्न आफूले आयोगलाई सुझाव दिएको बताउनुभयो ।

 निर्वाचन आयोगका सहसचिव रमेश ढकालले आयोगले तयार गरी गृह मन्त्रालयमा पठाएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सदनमा टेबुल गर्ने लगायतका विषयमा आयोगकातर्फबाट जिज्ञासा भएको प्रतिक्रिया दिनुभयो ।

आयोगका तर्फबाट बैठकमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई सशोधन गर्न आवश्यक देखिएकाले संशोधन प्रक्रिया अघि बढाइएकाले मन्त्रालयको तर्फबाट सहयोग र सहजीकरणका लागि अनुरोध गरिएको थियो ।

 कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरु तथा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल सहभागी हुनुहुन्थ्यो ।