Image description

लिस्बन । पोर्चुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानी (इ–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ ।

 फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो ।

टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिनुभयो ।

टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ राहदानी र ३५ बालबालिकाको नवीकरणका लागि आवेदन सङ्कलन गरिएको हो ।

 राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट रु एक करोड ६६ लाख ६२ हजार राजस्व सङ्कलन भएको टोली प्रमुख बस्नेतले बताउनुभयो । रासस