Image description

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उद्देश्य एउटा काम गर्ने अर्को हुँदा सहकारीको समस्या आएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालद्वारा आयोजित ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा सोमवार आयोजित कार्यक्रममा उहाँले सहकारीप्रति वितृष्णा जगाउन हुँदैन भन्नुभयो ।

कागजी काम धेरै गर्ने तर व्यवहारमा उतार्ने काम नहुँदा सहकारीमा समस्या देखिएका छन् भन्नुहुँदै मन्त्री अधिकारीले अहिले देखिएका समस्या समाधानका लागि आन्दोलनकारीसंग वार्ता पनि गरिएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा अहिले देखिएको समस्याले सहकारी क्षेत्रलाई शुद्धिकरण गर्ने समय भएको बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले सहकारीको समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्ने बाटो खोज्नुपर्ने र सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्छ भन्नेमा जोड दिनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले ६७औँ सहकारी दिवसको नाराअनुसार नै सहकारीमा सुशासनः प्रविधि र एकीकरणको आधारमा समुदायको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नु पर्छ भन्नुभयो ।

सचिव दुवाडीले केही सीमित सहकारीका कारणले सिङ्गो सहकारी क्षेत्र बदनाम भएको जनाउनुहुँदै व्यक्तिको मनोमानीमा निजी कम्पनी जसरी सहकारी चल्दा समस्या आएको धारणा राख्नुभयो ।