Image description

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।

मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आइतवार आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पु¥याउने महिलाको सम्मान कार्यक्रम’मा उहाँले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुन्छ भन्नुभयो ।

सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मङ्गलादेवी सिंहले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

 पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्तावेजका रुपमा रहेको छ भन्नुभयो ।

सभापति देउवाले कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उल्लेख गर्नुभयो ।

कांग्रेसका नेता प्रकाशमान सिंहले महिलाको हकअधिकार, सम्मान र प्रजातन्त्र स्थापनाका लागि मङ्गलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महिलाको हकअधिकारको स्थापनाका लागि स्व सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

 कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले महिला स्वतन्त्रताका लागि मङ्गलादेवी सिंह अडिग भएर लड्ने नेतृ भएको बताउनुभयो ।

नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्राले मङ्गलादेवी सिंहले महिला अधिकारका सवालमा देख्नुभएको सपना पूरा गर्न महिला सङ्घ लागिरहेको बताउनुभयो ।