Image description

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा १२ सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् ।

अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।

 वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँचपास नभएका १२ सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताउनुभयो । भन्सार कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् ।

 अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउनुहुन्छ ।

पूर्वअध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि विस्तारै छुटाउने नीति लिँदै आएको बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँचपास नगरिकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउनुहुन्छ ।

वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास नभई रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन् । भाडाका बस, पिकअपलगायत छन् ।