Image description

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ ।

रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा शनिवार नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको समेत बताउनुभयो ।

“शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ । सबै राजनीतिक दललाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कहिले नेपाली कांग्रेससँग नजिक हुँदा एमालेका र एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरूले मन दुखाउनुभएको छ । हामीलाई चाहिएको सुशासन र समृद्धि हो । त्यसका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सकेनौँ भने निकै अप्ठ्यारो स्थितिको सामना हामीले गर्नुपर्नेछ ।”

 “नयाँ संविधान निर्माणपछि देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा छ । सङ्घीय प्रणालीअनुसार आवश्यक ऐन, कानुनको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

सरकार पूर्ण स्वतन्त्रताको पक्षमा रहेको तथा सञ्चारमाध्यम र सञ्चारकर्मीको हितका निम्ति प्रतिबद्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले आमसञ्चार माध्यममा सबै जाति, वर्ग, भाषा र समुदायको पहुँच बढ्नेगरी सञ्चार नीतिमा पुनरावलोकन गर्न लागिएको उल्लेख गर्नुभयो ।

 पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज तीन शीर्ष दलका नेतृत्वबीच छलफल हुन लागेको बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो व्यावसायिक सिद्धान्त र धर्म निभाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले मुलुकमा राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नरहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सङ्कुचित रहेको अवस्थाबाट बाहिर ल्याउनका लागि निजी क्षेत्रले सरकारसँग समन्वय गरिरहेको बताउनुभयो ।

नीतिगत परिवर्तन गर्दा सरकारले निजी क्षेत्रको पनि सुझाव लिइनुपर्ने ढकालले बताउनुभयो ।