Image description

सुर्खेत । रुकुम आठबिसकोट नगरपालिका–१३ सोताका भरत जङ्ग दृष्टिविहीन हुनुहुन्छ । हिँड्डुल गर्न उहाँलाई अरूको सहायता चाहिन्छ । उहाँको श्रीमती पनि शारीरिक अपाङ्गता हुनुहुन्छ ।

गाउँमै जसोतसो सानो घर बनाएर बस्ने जोहो गर्नुभएका भरतको घर  यही कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त बनायो ।

घर भत्के पनि धन्नले ज्यान जोगाउन सफल भएका उहाँका दम्पति अहिले राहातको पर्खाइमा हुनुहुन्छ ।

सरकारले राहत वितरण त सुरु गरे पनि उहाँहरुले राहतको नाममा एउटा त्रिपाल मात्रै पाउनुभएको छ ।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ कल्लेरीका डिलसरा बोहोरा खड्काको पनि शारीरिक  त्यस्तै छ । राम्रोसँग हिँड्डुल गर्न नसक्ने उहाँको घर पनि भूकम्पले भत्कायो । घर भत्किने बेलामा घरमाथिबाट बाँच्ने आसले श्रीमान्श्रीमती नै हाम फाल्दा श्रीमान् सामान्य घाइते हुनुभयो । उहाँको ढाडमा चोट लागेको छ ।

छिनभरमै घरबारविहीन बन्नुभएकी डिलसराको परिवार अहिले खुल्ला आकासमुनि बस्दै आएको छ ।

अहिलेसम्म सहयोगका लागि कोही पनि नआएकाले वडाध्यक्षलाई फोन गरेर राहतको पहल गरिदिनको अनुरोध गरिरहे उहाँले पनि राहत पाउनुभएको छैन ।

जाजरकोट भेरी नगरपालिका–३ का लोकेन्द्र कार्की हेमोफिलियासम्बन्धी अपाङ्गता हुनुहुन्छ । उहाँ कात्तिक १७ गते टिभी हेर्दै हुनुहुन्थ्यो । भूकम्प आएपछि घरको छतले उहाँ पुरिनुभयो ।

धेरै पटक बोलाउँदा पनि कसैले सुनेनन्  तर  धेरै समयपछि लोकेन्द्रको उद्धार भयो । घाइते हुनुभएका उहाँ अहिले बाँकेको भेरी अस्पतालमा उपचार गराइरहनुभएको छ । लोकेन्द्रको  परिवार पनि अहिले घरबारविहीन भएको छ ।

जिल्ला सदरमुकाम भएको हुँदा उहाँले केही रुपमा राहत त पाइरहे पनि  अपाङ्गता भएका अन्य व्यक्तिहरु भूकम्पको चपेटामा परे पनि अहिलेसम्म राहत पाएका  छैनन् ।

विपद्को बेला सबैभन्दा समस्या र जोखिममा अपाङ्गता भएका व्यक्तिहरु पर्दै आएका छन् । पहुँचयुक्त संरचना नहुँदा उनीहरु समस्यामा पर्दै आएका छन् ।

बाढी, पहिरो र भूकम्पजस्ता विपद्का घटनामा अपाङ्गता भएका व्यक्तिहरु झनै जोखिममा हुन्छन् । यस्तो बेलामा पहिलो प्राथमिकता राखेर सरकारले राहत र पुनःस्थापनाको काम गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनुभएका अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकाल भूकम्पमा परी कति अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेका छन्  भनेर डाटा पनि सङ्कलन नगरिएको बताउनुहुन्छ ।

सरकारले भने कोही कसैलाई पनि पहुँचबाट टाढा नराख्नेगरी एकद्वार प्रणालीबाट राहत र पुनःस्थापनाको काम गरिने बताउँदै आएको छ । 

 जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी अपाङ्गता भएका तीन व्यक्ति घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

जाजरकोटको जम्मा जनसङ्ख्याको पाँच र रुकुम पश्चिममा चार प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ ।