Image description

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ ।

सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहारविहीनको सहारा सरकार हुने बताउनुभयो ।

जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन मंगलबार भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा विपत्तिको मिलेर सामना गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

विपद्को समयमा युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले  जनप्रतिनिधिलाई भूकम्पको क्षतिको वास्तविक तथ्याङ्क राख्न र पीडित नठगिउन भन्नेतर्फ सचेत हुन पनि सुझाव दिनुभयो ।

जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेट्नुभएको थियो भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गर्नुभएको थियो । 

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्थ्यो ।