Image description

काठमाडाैँ । झापा एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रथम वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा मंगलबार सम्पन्न खेलमा झापा एफसीलाई दुई शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थानमा सुरक्षित गरेको हो ।

पहिलो हाफको ७ औँ मिनेटमा आर्मीका नीरजकुमार शाहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

आर्मीले पाएको कर्नर किकमा झापाको पेनाल्टी एरिया नजिकैबाट हेड गर्दै शाहले बललाई गोलपोस्टको जाली चुमाउन सफल हुनुभयो ।

पहिलो हाफ १–० मा सकिएको दोस्रो हाफको ६१ औँ मिनेटमा आर्मीकै फत्तेमान घलेले अर्काे एक गोल थप्दै आफ्नो टिमको अग्रता दोब्बर पार्नुभयो ।

घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोस्टको जाली चुमेको थियो ।

अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सङ्कटा क्लब काठमाडौँको सामना गर्नेछ । 

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल भीडन्त हुनेछ ।

मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुविन बस्नेतले जानकारी दिनुभयो ।