Image description

काठमाडाैँ । टी-२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् ।

गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए । जसमा उनले ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए ।

आइतबार भएको अन्तिम खेलमा गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । यस उपाधिसहित उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा ओमानका अलराउण्डर अकिब इतियास सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ओमानलाई उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै ओमानका बिलाल खान प्रतियोगितामा उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए ।

नेपालका कुशल भुर्तेल प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा एक अर्धशतकसहित कूल एक सय ८५ रन बनाएका थिए ।

नेपाल र ओमानले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछन् ।

नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकमा छनोट भएको थियो भने ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका हो ।