Image description

काठमाडाैँ। राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले भूकम्पले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा प्रभावकारी ढङ्गले काम गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकको निर्देशनमा भनिएको छ, “भूकम्पबाट प्रभावित व्यक्तिको शीघ्र उद्धार, घाइतेको शीघ्र उपचार, पीडितलाई एकद्वार प्रणालीमार्फत उचित राहत, पुनःस्थापना र क्षति भएका संरचनाको उपयुक्त कार्ययोजना बनाएर शीघ्र पुनःनिर्माणमा जुट्न निर्देशन गर्दछ ।”

सभापति दिलकुमारी रावलको अध्यक्षतामा बसेको उक्त बैठकले काठमाडौँ डाँछीमा सञ्चालनमा रहेको लागत प्रभावी अर्गानिक कृषि प्रविधिको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ ।