Image description

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गर्नुभएको छ ।

भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि शनिबार विहान जाजरकोट र रुकुम पश्चिम आइपुग्नुभएका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेलाई भेट्नु भएको हो । 

बिहान जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको मिसन अस्पतालमा पुग्नुभएको थियो । 

उहाँले जाजरकोटबाट केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पु¥याउनुभएको थियो । चौरजहारीबाट ती घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ ।

चौरजहारी अस्पतालमा घाइतेलाई भेट गर्नुभएका प्रधानमन्त्री दहाल सानीभेरी गाउँपालिकामा रहेको पालिका अस्पताल छोटेबगर, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । 

प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिन आग्रह गर्नुभयो ।

साथै उहाँले सरकार भूकम्पपीडितको साथमा रहेको बताउनुभयो । भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागिपरेको उहाँको भनाइ थियो ।

भूकम्पपीडितलाई भेट्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा पनि प्रधानमन्त्रीसँगै यहाँ आइपुग्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल शनिबार बिहान स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित ठाउँमा आइपुग्नुभएको हो । रासस