Image description

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गर्नुभयो ।

सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राख्नुभयो ।

“नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भन्नुभयो, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन ।”

देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताउनुभयो ।

नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिनुभयो ।

उहाँले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो ।

नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताउनुभयो ।

देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो । सो अवसरमा  सभापति देउवाले सहिद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताउनुभयो ।

कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । 

 सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताउनुभयो ।