Image description

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आगामी कात्तिक १४ गते गर्ने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आगामी कात्तिकमा सुनुवाइ हुने तय भएको हो ।

यही असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।

अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्न आदेश दिएको थियो ।

बिहिबार पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन ।

संविधान दिवसका अवसरमा यही असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा रिगलको कैद मिनाहा भएको थियो ।

कैद मिनाहाको निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।