Image description

काठमाडाैँ । देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा बिहीबारदेखि अनलाइन सेवा सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गर्नुभएको हो ।

एकान्तकुना कार्यालयमासेवाग्राहीहरुदैनिकघण्टौँ लाममा बस्ने गरेका थिए । आजदेखि लाम पूर्णरुपमा हट्ने मन्त्री ज्वालाले बताउनुभयो ।

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो ।बिहीबारबाट राजस्व भुक्तानी, अनुमतिपत्र नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ । 

 अनुमतिपत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुुपर्ने प्रदेशका यातायातमन्त्री लम्सालले बताउनुुभयो ।

सवारी चालक अनुमतिपत्रका लागि अब लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीनपटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ ।

अन्य सबै काम घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताउनुभयो । 

 मन्त्री ज्वालाले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यातायात कार्यालयमा लाग्ने भीड हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिबद्धताअनुसार गत असार २० देखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको हो । 

 अबको केही दिनभित्र मधेस र लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमार्फत पनि अनलाइन सेवा पुनःसञ्चालन गरिने मन्त्री ज्वालाले बताउनुभयो