Image description

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गर्नुभएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताउनुभयो ।

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सबै नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्य सेवालाई विस्तारका लागि पहलकदमी भइरहेको जानकारी दिनुभयो ।

उहाँले  स्वास्थ्यमन्त्रीको नेतृत्वमा महत्वपूर्ण सुधारका काम भएको भन्दै प्रशंसासमेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सो अवसरमा स्वास्थ्य क्षेत्र सुधार तथा समस्या समाधानका लागि काम गरिरहनुभएका स्वास्थ्यमन्त्री, पदाधिकारी र स्वास्थ्य क्षेत्रमा कार्यरत स्थास्थ्यकर्मी सबैलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगको बढदो चुनौतीलाई सामना गर्दै गुणस्तरीय उपचारमा सबैको पहुँच पु¥याउन सरकारले पहल गरिरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा कर्मचारीको दरबन्दी सिर्जना गर्ने, स्वास्थ्य उपकरणको व्यवस्थापन र सरकारी अस्पतालमा सेवा सुधार गर्ने प्रतिबद्धता गर्नुभयो ।