Image description

काठमाडाैँ । पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा शनिबार लिग चरणका छ खेल सम्पन्न भएका छन् ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

काठमाडौँको न्यूडाइमण्ड युथ स्पोर्टस् क्लबले आज भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको छ ।

पहिलो खेलमा न्यूडाइमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबमाथि लगातार तीन सेटको जित हासिल गरेको थियो । डाइमण्डले एभरेष्टलाई २५-११, २५-१५,२५-१६ को सेटमा निरास पार्यो ।

दोस्रो खेलमा डाइमण्डले विभागीय टोली एपिएफमाथि शानदार जित दर्ता गरेको छ । न्यूडाइमण्डले २५-२०, २५-१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५-२२ मा लगे पनि अन्ततः पाँचौँ सेटमा भने न्यूडाइमण्डसँग एपिएफ १५-५ को सेटमा पराजित भएको छ ।

पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३-२ को सेटमा पराजित गरेको छ ।

पुलिसले एपिएफमाथि २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ को सेटमा जित हासिल गरेको हो ।

पुरुषतर्फको अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबलले बागलुङ गलकोट स्पोट्र्स क्लबमाथि सोझो सेटमा पराजित गरेको हो । मणिमुकुन्दले गलकोटमाथि २५-२३, २९-२७ र तेस्रो सेटमा २५-२० मा पराजित गरेको हो ।

महिलातर्फको खेलमा नेपाल पुलिसले एभेरेष्टमाथि सोझो सेटमा पराजित गरेको छ ।

पुलिसले एभेरेष्टमाथि २५-१८, २५-१८ र तेस्रो सेटमा २५-२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यूडायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका छन् ।

पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटवल गरी पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दिनेश भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता टोलीलाई रु एक लाख ५० हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

उपविजेता टोलीलाई रु एक लाख एक सय ११ र तृतीय हुनेलाई रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । प्रतियोगिता असोज १ गतेसम्म सञ्चालन हुनेछ ।