Image description

काठमाडौं चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागीता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले एसियाड टोलीको बिदाइ गर्नुभएको हो । एसियाकै ठूलो खेल कुम्भमेलामा नेपालले यसपटक विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ । 

४५ देश सहभागी हुने एसियाडमा कूल ४० खेलमध्ये नेपालले २९ खेलमा भाग लिनेछ ।  एसिायडमा नेपालबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३,  ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडी सहभागी हुनेछन् । 

यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।