Image description

काठमाडाैँ ।  राजनीतिक दलका नेताले नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताउनुभएको छ ।

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पुग्नुभएका शीर्ष नेताले उहाँको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै अप्ठेरा र जटिलतालाई पार गर्न अगुवाइ गर्ने नेताका रूपमा नेम्वाङ रहेकाले उहाँको योगदानलाई इतिहासले सधैँभरि स्मरण गर्ने बताउनुभयो ।

उहाँले नयाँ पुस्ताले पनि नेता नेम्वाङबाट प्रेरणा लिई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “उहाँ सादा, स्वच्छ छविको नेताको रूपमा रहनुहुन्थ्यो”, नेता नेपालले भन्नुभयो, “मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहना पनि उहाँमा रहेको थियो ।”

नेता नेपालले नेम्वाङ मुलुकको राजनीतिमा जहिले पनि सहमति र समझदारीको वातावरण निर्माण गर्नुपर्दछ भन्ने कुरामा दृढ रहेको बताउनुभयाे ।

उहाँले संविधान निर्माण र सदन सञ्चालन गर्ने कुरामा पनि उहाँको कुशलता उदाहरणीय रहेको बताउनुभयो । “संविधान निर्माण र संविधानको व्यवस्थापन गर्ने बेलामा उहाँले जुन खुबी प्रदर्शन गर्नुभएको थियो त्यो कमै व्यक्तिबाट त्यस्तो हुन्छ”, उहाँले भन्नुभयो, “उहाँ मिलनसार, मृदृभाषी, शालीन, धैर्य, सबैलाई बुझाउनुसक्ने खुबी र सहिष्णु पनि हुनुहुन्थ्यो ।”

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नेपाली राजनीति अहिले असहज अवस्थामा रहेको बेला नेता नेम्वाङको अभाव खड्किने बताउनुभयो ।

“धेरै अप्ठेरो पर्दा पनि तिक्तभावबाट छुट्टिनुपर्दा उहाँ मुसुक्क हाँसेर के गर्ने हो कसरी अगाडि जाने  हो भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अप्ठेरो र तिक्त बेला उहाँ सबै नेतासँग मुुसुक्क हाँसेर राजनीतिको एउटा बाटो निकाल्यो भन्ने मान्छे उहाँबाहेक अरु कोही छैन होला सायद ।” उहाँले हरेक अप्ठेरोमा नेम्वाङलाई आफूले खोजिरहने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता वर्षामान पुनले नेम्वाङ सन्तुलित र परिपक्व नेता भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय समस्या भएका सबै नेतालाई एक ठाउँमा ल्याउन सक्ने र राजनीतिक दलहरू अप्ठेरो अवस्थामा रहेको बेला पनि वार्ता, संवाद र सहकार्य गर्नसक्ने खुबी भएको नेताको रूपमा स्मरण गर्ने बताउनुभयो । 

नेता पुनले लामो समयसम्म पनि वामआन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको अभाव खड्किरहने बताउनुभयो । उहाँले नेता नेम्वाङलाई मिलनसार, सबैसँग समान व्यवहार गर्नसक्ने नेताको रूपमा आफूले चिन्ने गरेको बताउनुभयो ।

उहाँले नेता नेम्वाङ सङ्क्रमणकालीन काम सकाउन र पीडितमैत्री कानुन बनाउन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पनि त्यसअनुसारको काम गर्ने वातावरण बनाउन पनि क्रियाशील रहनुभएको बताउनुभयो ।