Image description

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले विपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउनुभएको छ ।

आइतबार एक सय १०औँ  विपी जयन्तीका अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा उहाँले विपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो ।

बिपी राष्ट्रिय, अन्तर्राष्ट्रिय तहको नेता र  राजनीतिक विचारक मात्रै नभएर  साहित्यकार पनि हुनुहुन्थ्यो ।

डा रिजालले भन्नुभयो, “विपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँका विचार हामी सबैका लागि अनुकरणीय छन् । उहाँले देखाएको मार्गमा हामी सबै हिँड्नुपर्छ ।”

प्रशिक्षण कार्यक्रममा डा रिजालले विपी राष्ट्रिय विभूतिका रुपमा नभई नेपालको आधुनिक इतिहासलाई परिभाषित गर्ने पात्रका रुपमा रहेका बताउनुभयो ।

कांग्रेस देशमा सबैभन्दा ठूलो दल भए पनि सेन्स हराएजस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेन्स अफ डिरेक्सन हराएको जस्तै कांग्रेस भएको छ । डिरेक्सनको खोजी गर्नुपर्छ । विपी कोइरालाले कस्तो कांग्रेस बनाउन खोज्नुभएको थियो । त्यो सोच्नुपर्छ ।”

नेपाल तरुण दल बैतडीले विपी जयन्तीको अवसर पारेर आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा डा. रिजालसँगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाल विद्यार्थी सङ्घका  पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाई, नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्ट लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताकार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध रहेकाहरुको उपस्थिति रहेको थियो ।