Image description

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताउनुभएको छ ।

पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा पार्टी लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री थापाले पार्टीले पहिलोपटक पार्टीका संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको चर्चा गर्न विपी साहित्य सम्मेलन गर्न लागेको बताउँदै उक्त कार्यक्रममा सहयोग र सहभागिताका लागि पर्यटन व्यवसायलाई आग्रह गर्नुभयो ।

कांग्रेस धादिङका पूर्वसभापति एवं पर्यटन व्यवसायी रमेश धमलाले नयाँ आउन लागेको पर्यटन ऐनका बारेमा घनिभूत छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पर्यटन व्यवसायीको कुरा पार्टीले सुन्न थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

 लोकतान्त्रिक होटल व्यवसायी सङ्घका संयोजक दीपक महतले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि लोकतान्त्रिक पर्यटन व्यवसायी लागेको भन्दै यसलाई पार्टीले सहयोग गर्न आग्रह गर्नुभयो ।