Image description

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।

विभिन्न नौ निकायका प्रमुखहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा साेमबार बोलाएर उहाँले समयसीमा तोकेर काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिनुभयो ।

सडकसँग सम्बन्धित नौ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको मन्त्री ज्वालाले बताउनुभयाे ।

सडक विभागले सडक कालोपत्रे गर्ने, केही दिनमै त्यही सडकमा नेपाल विद्युत् प्राधिकरणले खन्ने, लगतै नेपाल टेलिकमले पुनः खन्ने, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्ने कार्यले सडकको बेहाल भएको बताउनुभयाे ।

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईं, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता थियो । 

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरु अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकाभित्र विद्युत् प्राधिकरणले ५० किलोमिटर सडकमा तार ‘अन्डरग्राउण्डेट’ गरिरहेको छ । ३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन । अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ ।